कृष्ण कुँवर (कर्नेलियस्) अबुधाबी — संयुक्त अरब इमिरेट्स (यूएई) ले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि दोस्रो राहत विमान नेपाल पठाएको छ।
यूएई एड एजेन्सीमार्फत आएको उक्त विमानमा ४५ टन राहत सामग्री नेपाल ल्याइएको छ। राहत सामग्रीमा खाद्यान्न, विभिन्न मानवीय सहायता सामग्री, विद्युत् जेनेरेटर तथा अन्य अत्यावश्यक सामग्री रहेका छन्।
विशेषगरी बाढी तथा पहिरोबाट बढी प्रभावित क्षेत्रमा रहेका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त सामग्री पठाइएको हो।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा नेपालका बाढी तथा पहिरो प्रभावितका लागि १० मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने घोषणा गरिएको थियो। सोही मानवीय सहयोगअन्तर्गत दोस्रो राहत विमान नेपाल आइपुगेको हो।
यसअघि यूएईले नेपालमा ८३ टन राहत सामग्रीसहित पहिलो विमान पठाएको थियो।
प्राकृतिक विपत्तिको कठिन समयमा यूएईले नेपाललाई निरन्तर उपलब्ध गराएको मानवीय सहयोगले प्रभावित परिवारको राहत तथा उद्धार प्रयासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
