काठमाडौं । बाढी तथा पहिरोका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा मुख्य तथा सहायक राजमार्ग अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ भने जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन रोकिएको सम्बन्धित निकायले जनाएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित कान्ति लोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डमा पहिरो गएपछि सवारी आवागमन ठप्प बनेको हो।
काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सूचनाअनुसार भदौ १० गते साँझ ६ बजेदेखि भदौ ११ गते बिहान ८ बजेसम्मका लागि रोक लगाइएको र त्यसपछि पनि परिस्थितिको मूल्यांकन गरी मात्र सवारी सञ्चालन गर्न दिइने उल्लेख छ।
यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुख्य राजमार्गसमेत बाढीका कारण प्रभावित बनेको जनाइएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–८ थापाथली क्षेत्रमा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड तथा बेलकोटगढी नगरपालिका–१० मा पसाङ ल्हामु सडकखण्ड समेत अवरुद्ध भएको सूचनामा उल्लेख छ।
धादिङका बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर तथा गजुरी गाउँपालिका–२ परेवा भीर क्षेत्रमा पहिरोका कारण पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ। सडकमा आएको बाढी तथा पहिरोका कारण थप जोखिम हुन सक्ने भएकाले यात्रु तथा चालकलाई सम्बन्धित सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
