गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोट चापापानी निवासी नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक (सई) अर्जुन थापा पाँच दिनदेखि सम्पर्कविहीन भएपछि परिवार गहिरो चिन्तामा परेको छ। चीन जाने क्रममा रसुवाको टिमुरे पुगेका थापा भदौ १० गते बिहान करिब ८ बजे श्रीमती मिना थापासँग अन्तिमपटक फोन सम्पर्कमा आएका थिए। त्यसपछि उनको मोबाइल बन्द रहेको परिवारले जनाएको छ।
वि.सं. २०३२ सालमा जन्मिएका थापाले नेपाल प्रहरीमा करिब ३० वर्ष सेवा गरी अवकाश पाएका थिए। रोजगारीका सिलसिलामा चीन जाने तयारीमा रहेका उनी नक्साल, गैरीधारास्थित सम्राट ट्रेकिङ ट्राभल्स एन्ड टुर्समार्फत भिसा लगायतका प्रक्रिया पूरा गरी भदौ ९ गते काठमाडौंँबाट रसुवातर्फ गएका थिए। सोही दिन धुन्चेमा बसेका उनी भोलिपल्ट बिहान टिमुरे पुगेका थिए। टिमुरेको इमिग्रेसन क्षेत्रबाट श्रीमतीलाई फोन गर्दै ‘हामी अब चीन जाँदैछौँ’ भनेका थापा त्यसपछि भने सम्पर्कविहीन भएका हुन्।
थापा सम्पर्कविहीन भएकै दिन रसुवा क्षेत्रमा भीषण बाढी–पहिरो आएको खबर सार्वजनिक भएपछि परिवारमा थप त्रास फैलिएको छ। उद्धार तथा खोजीका क्रममा विभिन्न व्यक्तिको अवस्था सार्वजनिक भइरहेका बेला उनकी श्रीमती र दुई छोरी अन्जु तथा आशिका थापा भने हरेकपटक मोबाइल र समाचारमा बुबाको नाम वा अवस्थाबारे जानकारी आउने आशामा बसिरहेका छन्। परिवारले ‘न सासको खबर छ, न लासको’ भन्दै आफूहरू अत्यन्त पीडामा रहेको जनाएको छ। गोरखामा रहेका उनका वृद्ध आमाबुवासमेत छोराको अवस्थाबारे खबर नपाएपछि विक्षिप्त अवस्थामा रहेको परिवारको भनाइ छ।
अर्जुन थापाका छोरीहरूले करिब ३० वर्ष देश र जनताको सुरक्षामा योगदान गरेका आफ्ना बुबा अहिले आफैं विपद्को समयमा बेपत्ता भएकाले राज्यले विशेष प्राथमिकताका साथ खोजी तथा उद्धार गर्नुपर्ने माग गरेका छन्। उनीहरूले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा रसुवा क्षेत्रमा उद्धारमा खटिएका सबै टोलीलाई थापाको खोजीलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। साथै रसुवा, टिमुरे, धुन्चे वा अन्य कुनै स्थानमा अर्जुन थापालाई देख्ने, भेट्ने वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले तत्काल परिवार वा सम्बन्धित निकायलाई खबर गरिदिन परिवारले अपिल गरेको छ। परिवारको आशा अझै जीवित छ– ‘हाम्रो बाबा सकुशल फर्किनुहोस्।’
बेपत्ता व्यक्ति: अर्जुन थापा
जन्म: वि.सं. २०३२
स्थायी ठेगाना: बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोट चापापानी, गोरखा
पेशा: नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक (सई)
अन्तिम सम्पर्क: भदौ १० गते बिहान करिब ८ बजे, टिमुरे इमिग्रेसन क्षेत्र
पारिवारिक अवस्था: श्रीमती मिना थापा, छोरीहरू अन्जु थापा र आशिका थापा
अवस्था: पाँच दिनदेखि सम्पर्कविहीन
