काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध भएको काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक विभागका अनुसार राजमार्ग शुक्रबार साँझदेखि यातायातका लागि खुला गरिएको हो।
राजमार्गअन्तर्गत मलेखु नजिकका पोखरी, बाँगे र गलौंदी क्षेत्रमा जमेको लेदो तथा माटो हटाउने काम सम्पन्न भएपछि यातायात सञ्चालनमा आएको विभागले जनाएको छ। बाढीका कारण गल्छी–बैरेनी सडकखण्ड लेदो माटोले पुरिएपछि यातायात प्रभावित भएको थियो।
यसअघि उक्त सडकखण्डको लेदो हटाएर बिहीबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। त्यस्तै, बाढीका कारण पुल बगेर सडकसमेत पुरिएको जरिखेत क्षेत्रमा पनि लेदो हटाई यातायात सञ्चालनमा ल्याइसकिएको थियो।
राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकामा हुने दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। बाढीका कारण प्रभावित भएको यातायात तथा आपूर्ति प्रणाली क्रमशः सामान्य अवस्थामा फर्किने विश्वास गरिएको छ।
