धनगढी । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन भएकी छन्। उनी एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखामा फिल्ड अफिसरका रूपमा कार्यरत थिइन्। बाढी आएको दिन बिहानदेखि परिवारसँग उनको सम्पर्क हुन नसकेको हो।
परिवारका अनुसार बाढी आएको दिन बिहान ११ बजेर २९ मिनेटमा शाहीको मोबाइलको अन्तिम लोकेसन नुवाकोटको विदुर नगरपालिका–जितेटार क्षेत्रमा देखिएको थियो। त्यसपछि मोबाइल बन्द भएको र उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ। पुष्पाका भिनाजु दिपेन्द्र सिंहका अनुसार उनी जीवित, घाइते वा बाढीमा परेकी हुन् भन्नेबारे समेत अहिलेसम्म यकिन हुन सकेको छैन।
बाढीका कारण शाही कार्यरत लघुवित्तको शाखा कार्यालय तथा उनी बस्दै आएको घरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको परिवारले जानकारी पाएको छ। शाही कार्यालयबाट करिब १०० मिटर माथि रहेको एक घरमा भाडाको कोठा लिएर बस्दै आएकी थिइन्। बाढी आउनुअघि उनी कार्यालयमै रहेको जानकारी परिवारले पाएको थियो।
बेत्रावती शाखामा शाखा प्रमुख शारदा पाण्डे, फिल्ड अफिसर पुष्पा शाही र कार्यालय सहयोगी सुष्मा अधिकारी गरी तीन जना कर्मचारी कार्यरत थिए। बाढी आउन लागेको जानकारी पाएपछि कार्यालय सहयोगी अधिकारी आफ्नो बच्चासहित सुरक्षित स्थानमा पुगे पनि शाखा प्रमुख पाण्डे र पुष्पाको अवस्था भने अझै अज्ञात रहेको बताइएको छ।
परिवारका अनुसार पुष्पा करिब एक वर्षदेखि एनएमबी लघुवित्तमा कार्यरत थिइन्। जागिरसँगै उनले ब्याचलर तहको अध्ययनसमेत गरिरहेकी थिइन्। बाढी आउनुभन्दा अघिल्लो साँझ उनले आमा, बुवा, दिदी, दाइ तथा भाइहरूसँग फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि भने परिवारसँग उनको सम्पर्क टुटेको हो।
पुष्पाका भिनाजु सिंहका अनुसार परिवारको आर्थिक अवस्थाका लागि उनको आम्दानी महत्वपूर्ण स्रोत थियो। मिलनसार स्वभावकी पुष्पा जागिर गरेर आत्मनिर्भर बन्ने र आर्थिक रूपमा स्वावलम्बी भएपछि मात्र विवाह गर्ने योजनामा रहेको परिवारले जनाएको छ। उनको बेपत्ताको खबरपछि परिवार गहिरो चिन्तामा छ।
पुष्पाको खोजी तथा उद्धारका लागि परिवारले सुरक्षाकर्मी, सम्बन्धित सरकारी निकाय तथा एनएमबी लघुवित्तसँग आग्रह गरेको छ। परिवारसँगको समन्वयमा संस्थाको पोखरास्थित केन्द्रीय कार्यालयले समेत खोजीका लागि कर्मचारी परिचालन गरेको जानकारी दिइएको छ।
यसैबीच, पुष्पाका दाइ रोशन शाहीलाई परिवारले धनगढीबाट काठमाडौं पठाएको छ। सडकमार्गबाट घटनास्थल पुग्न कठिन भएपछि उनलाई विमानमार्फत काठमाडौं पठाइएको हो। काठमाडौं पुगेपछि नुवाकोटतर्फ गई खोजी तथा उद्धार कार्यमा सहभागी हुने तयारी गरिएको परिवारले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट विभिन्न स्थानमा शव ल्याइएको खबर सार्वजनिक भइरहेकाले परिवारको चिन्ता थप बढेको छ। पहिचान हुन बाँकी शवहरूमा समेत पुष्पाको खोजी गरी यथाशीघ्र पहिचान तथा जानकारी उपलब्ध गराउन परिवारले सुरक्षाकर्मी, सम्बन्धित निकाय र लघुवित्त संस्थासँग आग्रह गरेको छ।
