काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहले आवश्यक सहयोग तथा समन्वय गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ।
मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले बाढी प्रभावित जिल्लाका सबै स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य आवश्यक कार्यमा परिचालित हुन अनुरोध गरेको छ। स्थानीय तहले विपद् उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन कोषलगायत उपलब्ध स्रोतबाट नियमानुसार आवश्यक बजेट परिचालन गर्नसमेत आग्रह गरिएको छ।
बैठकले बाढीबाट प्रभावित स्थानीय तहका कार्यालयमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहबाट संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ। त्यसैगरी, नापी विभागलाई प्रभावित क्षेत्रका निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन गर्नुका साथै ‘डिजास्टर म्यापिङ’ अर्थात् विपद् नक्साङ्कनको कार्य गर्न भनिएको छ।
मन्त्रालयले अर्को व्यवस्था नभएसम्म बाढी प्रभावित जिल्ला तथा स्थानीय तहमा कार्यरत कर्मचारीले आफ्नो कार्यस्थल नछोड्न र कार्यस्थलबाहिर रहेका कर्मचारीलाई अविलम्ब कार्यस्थलमा फर्कन सूचित गर्न निर्देशन दिएको छ। राहत सामग्री व्यवस्थापन, लाभग्राहीको विवरण तयार पार्ने तथा अन्य आवश्यक कार्यका लागि थप जनशक्ति आवश्यक परेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी जनशक्ति उपलब्ध गराउने व्यवस्था मिलाइने जनाएको छ।
विपद्सम्बन्धी कार्यमा समन्वय तथा सहयोगका लागि मन्त्रालयले विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाका उपसचिव दीपक ढकाललाई सम्पर्क व्यक्ति तोकेको छ। ढकालको मोबाइल नम्बर ९८५११६४५८०८ रहेको छ। त्यस्तै, शाखा अधिकृत तुलसीराम पौडेललाई पनि सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ। पौडेलको मोबाइल नम्बर ९८६७९२६९९३ रहेको मन्त्रालयले जनाएको छ।
