काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरी नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै विपद्को यस कठिन घडीमा भारत नेपालका साथमा रहेको बताएका छन्।
मोदीले नेपाललाई आवश्यक पर्ने सम्भावित सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको पनि प्रधानमन्त्री शाहलाई जानकारी गराएका छन्। उनले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार नेपालमा रहेका भारतीय टोलीहरूले उद्धार तथा राहत कार्यमा नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेका छन्। प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउन भारतीय पक्षले समन्वयलाई प्राथमिकता दिएको जनाइएको छ।
नेपालमा बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि उद्धार, राहत तथा खोजी कार्य तीव्र पारिएको छ। यसबीच छिमेकी मुलुक भारतले सहयोगको तत्परता देखाउँदै विपद्को समयमा नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउने जनाएको हो।
