काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा आएको अकल्पनीय तथा अप्रत्याशित बाढीका कारण सिर्जित संकटलाई मध्यनजर गर्दै नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सहयोगका विषयमा छलफल भइरहेको छ ।
बाढीका कारण विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै सर्वसाधारणको जनजीवन प्रभावित भएको अवस्थामा एमालेले विपद्को अवस्थाबारे आवश्यक जानकारी लिने र पार्टीका तर्फबाट गर्न सकिने सहयोगका विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
यसैबीच राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय टिम बाढी प्रभावित नुवाकोट र रसुवातर्फ प्रस्थान गरेको छ । युवा संघका इन्चार्ज क्षितिज थेबे र अध्यक्ष महाराज गुरुङको नेतृत्वमा टोली प्रभावित क्षेत्रतर्फ गएको हो ।
टोलीले प्रभावित क्षेत्रमा पुगेर प्रारम्भिक रूपमा बाढीबाट भएको क्षति, स्थानीयको अवस्था तथा तत्काल आवश्यक पर्ने सहयोगका विषयमा वस्तुस्थिति अध्ययन गर्नेछ । त्यसपछि उद्धार तथा राहतका लागि गर्न सकिने कामबारे पार्टी नेतृत्वलाई जानकारी गराउने बताइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेका बेला राजनीतिक दल तथा तिनका भ्रातृ संगठनहरू पनि प्रभावितको सहयोगमा परिचालित हुन थालेका छन् । एमाले र राष्ट्रिय युवा संघले प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउन उपलब्ध स्रोतसाधन परिचालन गर्ने जनाएको छ ।
