काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन। ताल पूर्ण रूपमा नखुलेका कारण त्यस क्षेत्रमा पानीको बहावमा अचानक परिवर्तन आउन सक्ने र त्यसको असर नेपालतर्फको भोटेकोशी तथा त्रिशूली नदीमा पुनः बाढीको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाल बाढी सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको हो। नदी थुनिएको स्थानमा बनेको तालको अवस्था पूर्ण रूपमा सामान्य नभइसकेकाले तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने चेतावनी दिइएको छ।
यसअघि बुधबार बिहान चीनको तिब्बततर्फबाट अचानक ठूलो मात्रामा पानी भोटेकोशी नदीमा प्रवेश गरेपछि रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार टिमुरे बजार तथा रसुवागढी भन्सार क्षेत्रका संरचना बगाएको छ भने सडक, पुल, प्रहरी कार्यालयलगायतका पूर्वाधारमा समेत क्षति पुगेको छ। बाढीका कारण केही क्षेत्रको सम्पर्कसमेत विच्छेद भएको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।
भोटेकोशी हुँदै आएको बाढी नुवाकोटको त्रिशूली क्षेत्रसम्म पुगेको छ भने धादिङको गल्छी क्षेत्रमा समेत नदीको बहाव बढेको बताइएको छ। नदीको बहाव थप बढेमा नुवाकोट, धादिङ हुँदै गोरखा र चितवनसम्मका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परे तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ जान आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार रसुवामा पछिल्लो २४ घण्टामा भएको वर्षा बाढी निम्त्याउने स्तरको नरहेको र अधिकतम करिब ७ मिलिमिटर मात्र वर्षा भएको थियो। त्यसैले बाढीको कारण हिमताल फुट्नु वा हिमपहिरोसँग सम्बन्धित आकस्मिक पानीको बहाव हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यसको वास्तविक कारणबारे थप अध्ययन भइरहेको छ।
यसैबीच सरकारले उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई परिचालन गरेको छ। प्रभावित क्षेत्रमा नेपाली सेनाका हेलिकोप्टरमार्फत उद्धार तथा स्वास्थ्य टोली पठाइएको छ भने गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनले अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्।
प्रशासनले नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाको पछि नलागी आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ।
