काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै नेपाल टेलिकमले निःशुल्क सञ्चार सेवा उपलब्ध गराएको छ।
नेपाल टेलिकमका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित नागरिकलाई दुई दिनसम्म प्रतिव्यक्ति प्रतिदिन ५० वटा एसएमएस र २ जीबी डेटा निःशुल्क उपलब्ध गराइएको हो। विपद्को समयमा प्रभावित नागरिकलाई आफन्त तथा उद्धारमा खटिएका निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
यसैगरी, निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि बाढी प्रभावित क्षेत्रमा तीन दिनसम्म भ्वाइस, एसएमएस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ। विपद्को समयमा सञ्चार सम्पर्क सहज बनाउन यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
उता, बाढी प्रभावितको उद्धार, राहत तथा खोजी कार्यमा परिचालन हुने हेलिकप्टरका लागि आवश्यक हवाई इन्धनको व्यवस्था गर्न नेपाल आयल निगमले नुवाकोटको त्रिशूलीमा तत्काल इन्धन उपलब्ध गराउने तयारी गरेको छ। त्यसका लागि काठमाडौँबाट हवाई इन्धनसहितको ट्यांकर त्रिशूलीतर्फ परिचालन गरिएको जनाइएको छ।
