काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीको घटनालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्। बाढीबाट भएको क्षति तथा उद्धार कार्यको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले परिषद्को बैठक आह्वान गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा रसुवामा बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरणबारे ब्रिफिङ गरिएको छ। बैठकमा बाढीका कारण उत्पन्न अवस्थाका साथै प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे समेत जानकारी गराइएको थियो।
बैठकमा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले विपद्को अवस्थामा आवश्यक समन्वय गरी तत्काल प्रभावकारी कदम चाल्न सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले बाढीग्रस्त क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति, स्रोतसाधन र उपकरण परिचालन गर्नसमेत निर्देशन दिएका छन्। प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी सरकारी संयन्त्रलाई सक्रिय बनाउन उनले जोड दिएका छन्।
विपद्को यस कठिन समयमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा खटिन प्रधानमन्त्री शाहले अनुरोध गरेका छन्। उनले प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतमा सरकारका सम्बन्धित निकाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
