काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवामा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट ठूलो बाढी आएपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन्। उनले प्रभावित क्षेत्रमा स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
‘नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टीपंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गर्दछु,’ प्रचण्डले भनेका छन्।
विपद्को समयमा नागरिकको जीवनरक्षा सबैभन्दा पहिलो दायित्व भएको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आमनागरिक एकजुट भएर उद्धार, राहत र मानवीय सहयोगलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
प्रचण्डले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अपिल गरेका छन्।
