काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकको नाम, लोगो तथा कर्मचारीको परिचय प्रयोग गरी फोन, WhatsApp, Viber तथा विभिन्न सामाजिक सञ्जालमार्फत हुने ठगीप्रति सचेत रहन आफ्ना ग्राहकलाई आग्रह गरेको छ।
बैंकका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले KYC Update, Mobile Banking Verification, ATM Card Renewal, Account Verification लगायतका बहाना बनाएर ग्राहकसँग OTP, Password, PIN, CVV, मोबाइल बैंकिङ विवरण तथा कार्डसम्बन्धी गोप्य जानकारी माग्न सक्छन्। यस्ता विवरण कसैलाई पनि उपलब्ध नगराउन बैंकले अनुरोध गरेको छ।
त्यस्तै, अपरिचित व्यक्तिको आग्रहमा मोबाइल वा कम्प्युटरको Screen Share नगर्न, शंकास्पद लिंकमा क्लिक नगर्न तथा अनधिकृत एप डाउनलोड नगर्न बैंकले आग्रह गरेको छ। बैंकका नाममा प्राप्त हुने शंकास्पद फोन, सन्देश वा लिंकप्रति विशेष सावधानी अपनाउन समेत ग्राहकलाई अनुरोध गरिएको छ।
कुनै समस्या वा शंका उत्पन्न भएमा अपरिचित व्यक्तिको सम्पर्कमा भर नपरी नेपाल बैंकका आधिकारिक माध्यमबाट मात्र जानकारी लिन बैंकले सुझाएको छ। सुरक्षित बैंकिङ कारोबारका लागि बैंकले ग्राहकलाई “सुरक्षित रहनुस्, सचेत रहनुस्” भन्दै आफ्नो गोप्य विवरणको सुरक्षा आफैँले सुनिश्चित गर्न आग्रह गरेको छ।
