बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै सोही क्षेत्रबाट अर्की बालिका बेपत्ता भएकी छन्। जीतपुर सिमरा उपमहानगरपालिका–६ निवासी ११ वर्षीया सनाया खातुन मंगलबारदेखि सम्पर्कविहीन भएकी हुन्।
बालिका घरबाट सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि इलाका प्रहरी कार्यालय सिमरामा जानकारी गराएको छ। सनाया बेपत्ता भएको जानकारी उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह प्रहरीलाई गराएकी हुन्।
परिवारबाट बालिका बेपत्ता भएको सूचना प्राप्त हुनासाथ प्रहरीले उनको खोजी सुरु गरेको जनाएको छ। प्रहरीले बालिका कहाँ र कसरी बेपत्ता भइन् भन्ने विषयमा समेत आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले ११ वर्षीया बालिका बेपत्ता भएको निवेदन प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार प्रहरी टोली परिचालन गरी बालिकाको खोजी कार्य अघि बढाइएको छ।
गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले स्थानीय क्षेत्रमा बालबालिकाको सुरक्षाबारे गम्भीर चिन्ता बढिरहेका बेला अर्की बालिका बेपत्ता भएपछि परिवार तथा स्थानीय थप सशंकित बनेका छन्। प्रहरीले बालिकाको खोजीलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ।
