दाङ । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३ लाख ३८ हजार ९२८ जनालाई आँखा उपचार सेवा प्रदान गरेका छन् । सो अवधिमा १४ हजार ४७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया र तीन हजार ६५५ जनाको अन्य आँखासम्बन्धी शल्यक्रिया गरी १८ हजार १२१ जनाले शल्यक्रिया सेवा पाएका छन् ।
कार्यक्रमअन्तर्गत अस्पताल तथा उपचार केन्द्रका साथै विभिन्न स्थानमा निःशुल्क आँखा शिविर, आँखा जाँच तथा विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रमबाट ९७ हजार ६६९ जनाले निःशुल्क आँखा जाँच सेवा लिएका छन् भने चार हजार ९१८ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले जनाएको छ ।
वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमका अनुसार राप्ती आँखा अस्पताल रक्षाचौरबाट ६४ हजार ६६०, लमही आँखा अस्पतालबाट ४० हजार २५८ र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्ज, कपिलवस्तुबाट ८९ हजार ६६९ जनाले सेवा लिएका छन् । यस्तै घोराही आँखा उपचार सर्जिकल सेन्टरबाट सात हजार ८०६, सल्यानबाट सात हजार १५, रुकुम पश्चिमबाट सात हजार १८१, कोइलाबासबाट दुई हजार ५९१ र कृष्णनगरस्थित बहादुरगन्ज आँखा सर्जिकल सेन्टरबाट आठ हजार १८५ जनाले उपचार सेवा पाएका छन् ।
त्यसैगरी सुलिचौर आँखा उपचार सर्जिकल सेन्टरबाट चार हजार २५८, रुकुम पूर्वबाट एक हजार ३४६, भालुबाङबाट चार हजार १९२, गढुवाबाट एक हजार ४३९, राजपुरबाट ४३८ तथा राजपुर–५ स्थित केन्द्रबाट ४१९ जनाले आँखा उपचार सेवा प्राप्त गरेका छन् । शल्यक्रियातर्फ राप्ती आँखा अस्पताल रक्षाचौरबाट दुई हजार ४४०, लमहीबाट एक हजार ८८९ र छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालबाट छ हजार ४४९ जनाको शल्यक्रिया गरिएको छ । विभिन्न निःशुल्क शिविरमार्फत थप दुई हजार ६३४ जनाको शल्यक्रिया गरिएको गौतमले जानकारी दिए ।
आर्थिक वर्ष २०८२/०८३ मा ७५ हजार ९५५ जनाको चस्मा जाँच गर्दा ३९ हजार ५८६ जनालाई चस्मा आवश्यक रहेको पाइएको छ । कार्यक्रमले उपचारसँगै समुदायस्तरमा आँखा स्वास्थ्य शिक्षा र जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, धामीझाँक्री, पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आमा समूह तथा समाजसेवी गरी ४९४ जनालाई प्राथमिक आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।
कार्यक्रमअन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रबाट जलविन्दु, रेटिना, कर्निया, बाल नेत्ररोग, अकुलोप्लास्टिकलगायतका विशेषज्ञ सेवा पनि उपलब्ध हुँदै आएको छ । प्रमुख प्रशासक डा. शम्शेर थापाका अनुसार राप्ती आँखा अस्पतालमा जलविन्दु विशेषज्ञ सेवा, लमहीमा विभिन्न विशेषज्ञ सेवा तथा नाक, कान र घाँटीसम्बन्धी सेवा र छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा अकुलोप्लास्टिक विशेषज्ञ सेवा उपलब्ध छ । नेपाल नेत्रज्योति सङ्घले अस्पतालमा आधारित सेवासँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा निःशुल्क शिविर, विद्यालय आँखा परीक्षण, जनचेतना र आवश्यकताअनुसार शल्यक्रिया सञ्चालन गर्दै ‘सबैका लागि आँखा स्वास्थ्य’को अवधारणाअनुसार सेवा विस्तार गरिरहेको छ।
