भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी तथा स्वीस रेडक्रसको सहयोगमा सञ्चालित स्वस्थ्य बुढ्यौली (सहारा) परियोजनाअन्तर्गत ज्येष्ठ नागरिक सम्मान तथा विविध कार्यक्रम सम्पन्न भएको छ।
विश्व ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरपालिकाको सभाहल, हेल्मेटडाँडामा आयोजित कार्यक्रममा नगरभित्रका ज्येष्ठ नागरिक मिलन चौतारीलाई विभिन्न खेल सामग्री वितरण गरिएको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकको सक्रिय सहभागिता र मनोरञ्जनलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।
कार्यक्रममा नसर्ने रोगसम्बन्धी विषयमा हाजिरी जवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामार्फत ज्येष्ठ नागरिकलाई नसर्ने रोग, स्वास्थ्य सावधानी तथा स्वस्थ जीवनशैलीबारे जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष जनक खत्री, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति रामेश्वर थापा, कोषाध्यक्ष प्रेमप्रसाद खतिवडा, नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख नीलाकुमारी घिमिरेलगायत कर्मचारी तथा नगरभित्रका ९ वटै ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली र सामाजिक सहभागिता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो। साथै, ज्येष्ठ नागरिक मिलन चौतारीलाई सम्मान तथा आवश्यक सामग्री उपलब्ध गराउँदै उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गरिएको थियो।
