काठमाडौं । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ कारबाही हुने कानुनी व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले बलात्कार तथा हत्याका घटनामा दोषीलाई कडा कारबाही गर्न ढिलाइ गर्न नहुने बताएका हुन्। उनले विगतदेखि बलात्कार र हत्याका घटनाको लामो फेहरिस्त रहे पनि दोषीमाथि प्रभावकारी कारबाही हुन नसक्दा यस्ता घटना दोहोरिइरहेको बताए।
सांसद सुनारले निर्मला पन्तलगायतका घटनालाई स्मरण गर्दै राज्यले नागरिकको जीवन र मर्यादाको रक्षा गर्न सक्नुपर्नेमा जोड दिए। उनले भने, ‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ । घण्टौँसम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ । तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ ? निर्मला पन्तको जन्ती जाने हो कि मलामी जाने हो ? त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ।’
उनले बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए। साथै भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि पनि कडा र प्रभावकारी कारबाही आवश्यक रहेको भन्दै अपराध र भ्रष्टाचार नियन्त्रणका लागि कानुन कार्यान्वयनलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
सुनारले देशका चेलीहरूले सुरक्षित रूपमा बाँच्न र आफ्नो जीवन स्वतन्त्र रूपमा जिउन पाउने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले चेलीहरूको ‘बाँच्न पाउने र नाच्न पाउने अधिकार’ सुनिश्चित गर्न राज्य गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिँदै बलात्कारी र भ्रष्टाचारीविरुद्ध कडा कानुनी व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन आह्वान गरे।
