धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ स्थित अतरिया बसपार्कमा एक महिलाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ।
प्रहरीले घटनास्थलबाट मृतकको शव आफन्तलाई जानकारी नदिई उठाएर लगेको भन्दै मृतकका आफन्तले आपत्ति जनाएका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेती अगाडि पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन्। विरोधमा स्थानीय युवा, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारण सहभागी भएका छन्।
घटनामा संलग्न रहेको भनिएको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन, प्रहरीको भूमिकाबारे स्पष्ट जानकारी तथा आफूहरूलाई जानकारी नदिई शव उठाइएको विषयमा जवाफ मागेका छन्। घटनापछि अतरिया क्षेत्रमा तनावको अवस्था रहेको छ।
