ललितपुर । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र लघुवित्त ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि ऋणीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन्।
सहमति कार्यान्वयनको प्रक्रियाअन्तर्गत सरकारले आज बिहान ८ः५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरी धर्नामा सहभागी ऋणीहरूलाई उनीहरूको गन्तव्यतर्फ पठाएको हो।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत बिदाइ गरिएको थियो।
धर्नामा सहभागी झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत विभिन्न जिल्लाका ऋणीहरूलाई सम्बन्धित क्षेत्रतर्फ पठाइएको जनाइएको छ। १४ बुँदे सहमतिपछि लामो समयदेखि जारी आन्दोलन तत्कालका लागि स्थगित भएको हो।
