झापा । झापाको सीमावर्ती क्षेत्रबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार राति र शनिबार गरी छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शुक्रबार राति झापा गाउँपालिका–४ चर्तागाछीबाट शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय गौरव चौधरी पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका चौधरीलाई शङ्कास्पद अवस्थामा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जाँचका क्रममा चौधरीको साथबाट प्लास्टिकसहित ७ ग्राम १० मिलिग्राम ब्राउनसुगर तथा नाइट्रोजन ट्याब्लेट १८ थान बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, शनिबार बिहान भारततर्फबाट साइकलमा नेपाल प्रवेश गर्दै गरेका शिवसताक्षी नगरपालिका–६ का २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डीलाई टाघनडुब्बा स्कुल टोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए। उनीहरूको साथबाट प्लास्टिकसहित १ ग्राम ७५ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
