भक्तपुर । चाँगुनारायण नगरपालिका–८ स्थित भण्डारी टोल क्षेत्रमा अव्यवस्थित जग्गा प्लानिङका कारण पटक–पटक पहिरो जाने र जमिन कटान हुने क्रम नरोकिएपछि स्थानीयवासीका घर तथा जग्गा उच्च जोखिममा परेका छन्। बस्तीमुनिको क्षेत्रमा गरिएको प्लानिङका कारण भू–क्षयको जोखिम बढेको भन्दै स्थानीयले पटक–पटक वडा कार्यालय र नगरपालिकालाई जानकारी गराउँदा पनि समस्या समाधानका लागि प्रभावकारी पहल नभएको गुनासो गरेका छन्।
स्थानीयवासीले प्लानिङको आधिकारिकता, प्राविधिक स्वीकृति, वातावरणीय प्रभाव तथा निर्धारित मापदण्ड पालना भए–नभएको विषयमा गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले विना स्वीकृति प्लानिङ सञ्चालन गरिएको हो वा जिम्मेवार निकायको मिलेमतोमा मापदण्डविपरीत अनुमति दिइएको हो भन्ने विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
स्थानीयको आरोपअनुसार भू–भागको प्राकृतिक संरचना र जोखिमको मूल्याङ्कन नगरी जग्गा काट्ने र बाटो खोल्ने काम गरिँदा पहिरोको जोखिम झनै बढेको हो। यसले नगर क्षेत्रमा भूमाफियाको प्रभाव र पहुँचका कारण नियम–कानुन कमजोर बनेको हो कि भन्ने आशंका समेत जन्माएको स्थानीय बताउँछन्। उनीहरूले जनताको सुरक्षाभन्दा प्लानिङ व्यवसायीको स्वार्थलाई प्राथमिकता दिइएको भए त्यसको जिम्मेवारी सम्बन्धित जनप्रतिनिधि र कर्मचारीले लिनुपर्ने बताएका छन्।
समस्या पटक–पटक जानकारी गराउँदा पनि नगरपालिकाको नेतृत्वबाट तत्काल निरीक्षण, प्राविधिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि ठोस कदम नचालिनुले नगर प्रमुखको कार्यशैली र लापरबाहीप्रति समेत स्थानीयमा आक्रोश बढेको छ। विपद् आएपछि क्षति विवरण संकलन गर्नेभन्दा पहिल्यै जोखिम पहिचान गरी रोकथाम गर्नुपर्नेमा नगरपालिका मौन बसेको भन्दै स्थानीयले जनप्रतिनिधिको जवाफदेहिता खोजेका छन्।
स्थानीयवासीले तत्काल स्थलगत निरीक्षण गरी प्लानिङको स्वीकृति तथा मापदण्ड छानबिन गर्न, प्राविधिक अध्ययन गराउन र पहिरो नियन्त्रणका आवश्यक संरचना निर्माण गर्न माग गरेका छन्। साथै, भूमाफियाको दबाब वा प्रभावमा नियमविपरीत प्लानिङलाई संरक्षण गरिएको भए निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरूको माग छ। सम्भावित मानवीय तथा भौतिक क्षति हुनुअघि नै नगरपालिका गम्भीर बन्नुपर्ने भन्दै स्थानीयले अब पनि बेवास्ता गरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
