खोटाङ । नेपाल शिक्षक महासंघ खोटाङका संस्थापक अध्यक्ष तथा चम्पावती माध्यमिक विद्यालय बुइपाका पूर्व शिक्षक स्वर्गीय शुभशेर राईको स्मृतिमा स्थापित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’को पाँचौँ स्मृति सभा सम्पन्न भएको छ । प्रतिष्ठानले स्मृति सभाको अवसरमा जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षक, उत्कृष्ट विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिलगायत विभिन्न व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
वि.सं. २००७ भदौ २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएका शुभशेर राईले करिब ४३ वर्ष शिक्षण सेवामा बिताएका थिए । चम्पावती माध्यमिक विद्यालय बुइपामा लामो समय शिक्षकका रूपमा सेवा गरेका राई नेपाल शिक्षक महासंघ खोटाङका संस्थापक अध्यक्षसमेत थिए । शिक्षा क्षेत्रमा सक्रिय रहँदै शिक्षकको पेशागत हकहित र विद्यालय शिक्षाको विकासमा योगदान पुर्याएका उनको वि.सं. २०७८ भदौ ५ गते आफ्नै निवास बुइपामा निधन भएको थियो ।
स्वर्गीय राईको योगदानलाई दीर्घकालसम्म स्मरण गर्ने उद्देश्यले उनका परिवारका १९ सदस्यले हरेक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशत रकम जम्मा गर्ने गरी अक्षयकोष स्थापना गरेका थिए । चार वर्षअघि स्थापना गरिएको उक्त अक्षयकोषमा हाल रु ११ लाख ११ हजार १११ रकम रहेको जनाइएको छ । यही कोषबाट शुक्रबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ‘शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ साकेला गाउँपालिका–३ खिदिमाका शिक्षक इन्द्रकुमार तामाङलाई रु ५५ हजार ५५५ नगदसहित प्रदान गरिएको हो ।
कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८३’बाट सरस्वती माध्यमिक विद्यालयका शिक्षक टंक कटुवाल, ‘उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्मान–२०८३’बाट हिमालय माध्यमिक विद्यालय सोल्माका अध्यक्ष सप्तमणि राई तथा ‘जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८३’बाट लक्ष्मी माध्यमिक विद्यालय काहुलेका प्रधानाध्यापक कृष्णबहादुर राई सम्मानित भए । यस्तै, ‘दीर्घसेवी शिक्षक सम्मान–२०८३’बाट जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्यलाई सम्मान गरिएको छ ।
त्यसैगरी ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८३’ चम्पावती माध्यमिक विद्यालय बुइपामा कक्षा ७ मा अध्ययनरत छात्र आनन्द श्रेष्ठलाई रु ७ हजार ७७७ नगदसहित प्रदान गरिएको छ । पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री उषाकला राई, प्रतिष्ठानका अध्यक्ष देवबिक्रम राईलगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए । वार्षिक पुण्यतिथि तथा पुरस्कार वितरण कार्यक्रमकै अवसरमा स्वर्गीय राईका परिवारका सदस्यहरूले आफ्नो वार्षिक कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले जम्मा गरेको रु ९० हजारसमेत प्रतिष्ठानलाई उपलब्ध गराएका छन् । वि.सं. २०७९ साउन ३० गते जिल्ला प्रशासन कार्यालय खोटाङमा दर्ता भएको प्रतिष्ठानले आगामी दिनमा पनि स्वर्गीय राईको शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई संस्थागत गर्दै पुरस्कार तथा सम्मानलाई निरन्तरता दिने जनाएको छ ।
