काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने बताएका छन्। ‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा नन्दप्रसाद–जानुका स्मृति सम्मान समर्पण समारोहमा बिहीबार बोल्दै थापाले संसद्को गरिमा र सांसदको जिम्मेवारीप्रति सबै सजग हुनुपर्ने बताएका हुन्।
सभापति थापाले सांसदहरूले संसद्मा व्यक्त गर्ने अभिव्यक्ति र गर्ने निर्णयले प्रत्यक्ष रूपमा मुलुकको राजनीति तथा लोकतान्त्रिक संस्थामाथि प्रभाव पार्ने भएकाले जिम्मेवार बन्नुपर्ने बताए। संसद्को गरिमा कायम राख्न जनप्रतिनिधिहरूले आफ्नो भूमिका र जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो।
थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने उल्लेख गर्दै अहिले मुलुकलाई राजनीतिक प्रयोग वा अस्थिरताको आवश्यकता नरहेको बताए। ‘अब नेपालमा राजनीतिक एड्भेन्चर चाहिएको छैन,’ उनले भने। उनका अनुसार मुलुकलाई स्थिरता र परिणाममुखी काम आवश्यक छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षका लागि सरकार सञ्चालन गर्ने जनादेश पाएकाले उसलाई सो अवधिसम्म काम गर्ने अवसर दिनुपर्ने थापाले बताए। यसअघि पनि थापाले रास्वपालाई प्राप्त जनादेशअनुसार पाँच वर्ष सरकार चलाउन दिनुपर्ने र कांग्रेसले प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्ने बताएका थिए।
पाँच वर्षपछि कांग्रेसले सरकार सञ्चालन गर्ने गरी आफूहरू तयारीमा जुटेको सभापति थापाले बताए। ‘विगतबाट पाठ सिकेर आफूलाई सच्च्याउँदै हामी अघि बढेका छौँ,’ उनले भने। कांग्रेसले विगतका कमजोरीबाट सिक्दै आगामी दिनमा जनतामाझ नयाँ विश्वासका साथ प्रस्तुत हुने उनको भनाइ थियो।
