काठमाडौं । स्थानीय तहमा लामो समयदेखि देखिँदै आएको प्रमुख प्रशासकीय अधिकृतको अभाव अन्ततः समाधान भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाएको जनाएको छ। मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत सञ्जीव नेपालका अनुसार सबै स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पूर्ण भएका छन्।
नेपालका अनुसार स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पूर्ण भएको सम्भवतः यो पहिलोपटक हो। उनले भने, ‘७५३ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। स्थानीय तहका दरबन्दीबमोजिम प्रमुख प्रशासकीय अधिकृत पूर्ण भएका छन्।’ पछिल्लो चरणमा रिक्त रहेका स्थानीय तहमा समेत अधिकृत खटाइएपछि सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत पुगेका हुन्।
२०७४ सालमा स्थानीय तहको निर्वाचन भएयता सरकारले सबै स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको थिएन। कतिपय पालिका लामो समयसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका थिए। प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा प्रशासनिक काम, आर्थिक कारोबार, योजना कार्यान्वयन, कर्मचारी व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवासमेत प्रभावित हुँदै आएको थियो।
मन्त्रालयले पछिल्लो समय रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने अभियानलाई तीव्रता दिएको थियो। पछिल्लो चरणमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासहित १४५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको थियो। यसक्रममा तुलसीपुर उपमहानगरपालिकामा टेकनारायण पौडेल, घोराही उपमहानगरपालिकामा चन्द्रप्रसाद भुसाल, बुटवल उपमहानगरपालिकामा दीपक ज्ञवाली र जनकपुर उपमहानगरपालिकामा ज्ञानहरि घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको विवरण सार्वजनिक भएको छ।
सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पुगेपछि अब स्थानीय सरकारको प्रशासनिक कामकारबाही थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थितिले स्थानीय तहमा आर्थिक तथा प्रशासनिक निर्णय प्रक्रिया, विकास आयोजना कार्यान्वयन, कर्मचारी परिचालन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। लामो समयदेखि कायम रहेको प्रमुख प्रशासकीय अधिकृतको अभाव हटेसँगै स्थानीय तह सञ्चालनमा देखिएका प्रशासनिक समस्यासमेत क्रमशः समाधान हुने विश्वास गरिएको छ।
