काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा माननीय डा. गंगा लक्ष्मी अवालले मानव अंग झिक्ने तथा बेचबिखनजस्तो जघन्य अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ। उहाँले अपराधको प्रकृति र गम्भीरताअनुसार दोषीलाई जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्दै मानव अंगदानलाई पनि कानुनी रूपमा व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
डा. अवालले नेपालमा वैधानिक रूपमा मानव अंगदानको व्यवस्था प्रभावकारी बनाउन सके हजारौँ बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। मृत्यु भएका व्यक्तिको उपयोगी अंग सुरक्षित रूपमा दान तथा प्रत्यारोपण गर्न सकिने व्यवस्था सहज र पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दै अंग प्रत्यारोपणको आवश्यकता भएका बिरामीलाई समयमै अंग उपलब्ध गराउन राज्यले आवश्यक कानुनी, संस्थागत तथा प्राविधिक व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले मानव अंगको अवैध झिकाइ तथा बेचबिखन मानव जीवन र मानव अधिकारमाथिकै गम्भीर अपराध भएकाले यस्ता अपराधमा संलग्नलाई कठोर दण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। अंगदानलाई कानुनी र व्यवस्थित प्रक्रियामार्फत प्रोत्साहन गर्दै एकातर्फ अंगको अभावका कारण जीवन गुमाउने अवस्थाको अन्त्य गर्न र अर्कोतर्फ अंगको अवैध कारोबार तथा शोषणलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो।
त्यसैगरी, डा. अवालले पीडितको गोपनीयता तथा डिजिटल अधिकारको प्रभावकारी संरक्षणमा समेत जोड दिनुभयो। सामाजिक सञ्जाल तथा इन्टरनेटमा फैलिएका पीडितसम्बन्धी विवरण हटाउन सक्ने स्पष्ट कानुनी संयन्त्र निर्माण गरी ‘Right to be Forgotten’ अर्थात् ‘बिर्सिन पाउने अधिकार’ सुनिश्चित गर्नुपर्ने उहाँको धारणा थियो। यसको प्रभावकारी कार्यान्वयनका लागि साइबर प्रहरीलाई आवश्यक विशेष क्षेत्राधिकार प्रदान गर्नुपर्ने पनि उहाँले बताउनुभयो।
प्रस्तावित कानुनी संशोधन सकारात्मक भए पनि वर्तमान प्रविधि, वित्तीय आवश्यकता र आधुनिक अपराधका बदलिँदा आयामसँग पर्याप्त सामञ्जस्य कायम गर्न अझै सुधार आवश्यक रहेको डा. अवालले उल्लेख गर्नुभयो। प्रविधिको तीव्र विकाससँगै अपराधका स्वरूपसमेत परिवर्तन भइरहेकाले कानुनलाई समयानुकूल परिमार्जन गर्दै अंगदानलाई सुरक्षित, पारदर्शी र कानुनी बनाउने तथा अंग बेचबिखनलाई कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था गर्नुपर्ने उहाँको जोड थियो।
