काठमाडौँ । पूर्वी इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ। भूकम्पका कारण करिब पाँच हजार मानिस विस्थापित भएका छन् भने उद्धार तथा राहत टोलीले पहिरोका कारण अवरुद्ध सडक खुलाउने र प्रभावित क्षेत्रमा पुग्ने प्रयास गरिरहेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेस टापुस्थित एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा र १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पपछि हालसम्म करिब ३४१ वटा परकम्प गएको बताइएको छ। भूकम्पका कारण ३६ जना गम्भीर घाइते र ७७ जना सामान्य घाइते भएका उपस्वास्थ्यमन्त्री बेन्जामिन पाउलस ओक्टेभियानसले जानकारी दिएका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन निकाय (बीएनपीबी) का अनुसार सिक्का क्षेत्रमा मात्रै तीन हजार तीन सयभन्दा बढी मानिस घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्। उनीहरूमध्ये धेरैजना खेल मैदान तथा खुला स्थानमा आश्रय लिएर बसेका छन्। मौमेरे बन्दरगाह सहरमा भत्किएका घरअगाडि पाल टाँगेर मानिसहरू बसिरहेका छन् भने अस्पतालबाहिर पनि अस्थायी शिविर बनाएर घाइतेको उपचार भइरहेको छ। स्थानीय अधिकारीहरूका अनुसार परकम्पको डरका कारण धेरै मानिस घरभित्र फर्कन सकेका छैनन्।
भूकम्पबाट ठूलो मात्रामा भौतिक क्षति भएको छ। बीएनपीबी प्रमुख लेफ्टिनेन्ट जनरल सुहार्यान्तोका अनुसार कम्तीमा १५७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने करिब २०० घरमा क्षति पुगेको छ। नागेकेओ क्षेत्रका करिब दुई हजार स्थानीयलाई अस्थायी आश्रयस्थलमा सारिएको छ। पछिल्लो विवरणअनुसार एक हजार तीन सयभन्दा बढी घरमा क्षति पुगेको जनाइएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा राज्यको ऊर्जा कम्पनी पर्टामिनाका २० वटा पेट्रोल पम्पसमेत बन्द भएका छन्।
उद्धार तथा राहतका लागि तीन हेलिकप्टर, एउटा उद्धार जहाज तथा तीन हजार पाँच सयभन्दा बढी सेना र प्रहरी परिचालन गरिएको छ। यद्यपि, पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले नागेकेओलगायत केही दुर्गम क्षेत्रमा उद्धार टोली अझै पुग्न सकेका छैनन्। स्थानीय उद्धारकर्मीहरूले फेरीमार्फत प्रभावित बस्तीमा पुगेर उद्धार तथा राहत वितरण गर्ने प्रयास गरिरहेका छन्।
इन्डोनेसिया विश्वमै भूकम्पको उच्च जोखिममा रहेको मुलुकमध्ये एक हो। करिब १७ हजार टापुमा फैलिएको यो देश प्यासिफिक ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखी विस्फोटका घटना भइरहन्छन्। पछिल्लो भूकम्पलाई इन्डोनेसियामा पछिल्ला वर्षहरूमा भएका घातक भूकम्पमध्ये एक मानिएको छ।
