जोगवीर भण्डारी, भक्तपुर । चाँगुनारायण नगरपालिकामा रक्तदान अभियानले गति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा समितिहरूको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहकार्यमा सञ्चालित अभियानअन्तर्गत नगरपालिकाका पाँच वडाबाट हालसम्म १०६ पाउण्ड रगत सङ्कलन भएको छ। नगरपालिकाका बाँकी चार वडामा समेत क्रमशः रक्तदान कार्यक्रम विस्तार गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। रगतको अभावका कारण कसैको जीवन जोखिममा नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा आयोजकले नगरवासीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।
कार्यक्रममा संघीय सांसद रुकेश रन्जितले रक्तदान गर्ने सबै रक्तदाताप्रति आभार व्यक्त गर्दै रगतको अभाव न्यूनीकरणका लागि राज्यले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए। उनले देशमा रगतको अभाव हुन नदिन सरकारले विशेष दायित्वबोधका साथ आवश्यक योजना ल्याउनुपर्ने बताए। “देशमा रगतको अभाव हुन नदिन नेपाल सरकारले विशेष दायित्वबोध गरी योजना ल्याउनुपर्छ। यसका लागि म प्रतिनिधिसभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने। चाँगुनारायण नगरपालिका–२ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यस्ता मानवीय अभियानलाई स्थानीय तहबाट निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाका सल्लाहकार, आजीवन सदस्य तथा सामाजिक अभियन्ता डा. नबराज काफ्लेले रक्तदानलाई मानव सेवाको सरल र प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने बताए। उनले जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका रक्तदान कार्यक्रममा सहभागी भई नियमित रक्तदान गर्न आम नागरिकलाई आग्रह गरे। “एक थोपा रगतले धेरै जीवन बचाउन सक्छ। यो मानवताको सबैभन्दा सरल र शक्तिशाली सेवा हो,” उनले भने। नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति रामेश्वर थापाले रक्तदाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानमा सहकार्यलाई निरन्तरता दिने बताए।
रास्वपा चाँगुनारायण नगर सभापति रोशन थापाका अनुसार नगरपालिकाका बाँकी वडामा समेत रक्तदान कार्यक्रम सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्यको सम्झौता भइसकेको छ। कार्यक्रममा रास्वपा चाँगुनारायण नगरपालिका–२ का सभापति मोहन पौडेललगायतको सहभागिता थियो। रक्तदान गर्ने सबै रक्तदातालाई प्रशंसापत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विशाल भण्डारीका अनुसार देशभर वार्षिक करिब दुई लाख युनिट रगत सङ्कलन हुने गरे पनि मागको तुलनामा यो पर्याप्त छैन। सडक दुर्घटना, प्रसूति सेवा, शल्यक्रिया, क्यान्सर तथा हृदय र मिर्गौलासम्बन्धी उपचारमा रगतको आवश्यकता पर्ने भएकाले यसको माग निरन्तर बढिरहेको छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार कुल जनसङ्ख्याको करिब १ देखि २ प्रतिशतले नियमित रक्तदान गर्ने हो भने राष्ट्रिय आवश्यकता पूरा गर्न ठूलो सहयोग पुग्न सक्छ। तर नेपालमा नियमित स्वैच्छिक रक्तदानको संस्कृति अझै अपेक्षित रूपमा संस्थागत हुन सकेको छैन। यस्तो अवस्थामा स्थानीय तह, सामाजिक संस्था तथा राजनीतिक दलका वडा समितिहरूको पहलमा सञ्चालन हुने रक्तदान अभियानले ‘रक्तदान जीवनदान’ भन्ने भावनालाई व्यवहारमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। चाँगुनारायणका पाँच वडाबाट सुरु भएको अभियान बाँकी वडामा समेत विस्तार गरी नगरस्तरीय नियमित रक्तदान संस्कृतिको आधार बन्ने आयोजकहरूको विश्वास छ।
