ललितपुर । हरेक वर्ष साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्ष सोमबार हुने मेलाका लागि प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा तथा बजार व्यवस्थापनलगायत आवश्यक तयारी सम्पन्न गरिएको हो। ललितपुर महानगरपालिका–२४ का वडाध्यक्ष एवं नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष दिनेशजङ्ग पाण्डेका अनुसार भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाइएको छ।
वडाध्यक्ष पाण्डेका अनुसार मेलालाई व्यवस्थित, स्वच्छ र भव्य बनाउन प्रचारप्रसार, सुरक्षा, सरसफाइ, पूजा, बजार व्यवस्थापनलगायत ११ वटा विषयगत उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। विभिन्न क्षेत्रका सुरक्षाकर्मी, विद्यालयका स्काउट तथा समाजसेवीलाई लाइन व्यवस्थापनमा परिचालन गरिनेछ। भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै धापाखेल हेल्थपोस्ट, रेडक्रस र सुमेरु अस्पतालको सहकार्यमा एम्बुलेन्स तथा प्राथमिक उपचारको व्यवस्था गरिएको छ। भक्तजनका लागि सोमबार बिहान ४ बजेदेखि नै दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ।
परम्पराअनुसार नागपञ्चमीका दिन पूजारी शिव गिरीको घरबाट बहुमूल्य गरगहनासहितको पित्तलको नागको प्रतिमा बाजागाजासहित नागदहमा ल्याएर विशेष पूजा गरिनेछ। दिनभर पूजा गरिएको प्रतिमालाई राति पुनः बाजागाजासहित पूजारीकै घरमा लगेर राख्ने परम्परा रहेको वडाध्यक्ष पाण्डेले बताए। नागदहमा वासुकी नागको विशेष पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने, घरमा सुखशान्ति कायम हुने, अन्नबाली सप्रने तथा छालासम्बन्धी रोग निको हुने जनविश्वासका कारण नागपञ्चमीका दिन यहाँ ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्।
नागपञ्चमीको मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका जिल्लाबाट समेत भक्तजन नागदह पुग्ने गरेका छन्। धापाखेल, झरुवाराशी, चापागाउँ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पीलगायत क्षेत्रबाट आउने भक्तजनले नागदहमा स्नान गरी नागको मन्दिरमा पूजा तथा दर्शन गर्ने र विभिन्न भाकल गर्ने परम्परा छ। करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको नागदहको औसत गहिराइ २५ फिट तथा मध्यभागमा करिब ४१ फिट रहेको समितिले जनाएको छ। प्राचीन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस दहसँग मञ्जुश्रीले चोभार क्षेत्रको पानी बाहिर पठाउँदा नागराजालाई राख्न दह निर्माण गरिएको भन्ने किंवदन्तीसमेत जोडिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्वसँगै नागदह राष्ट्रिय सिमसार क्षेत्रका रूपमा समेत परिचित छ। विभिन्न स्थानबाट आउने चराचुरुङ्गीको बासस्थानका रूपमा रहेको नागदहमा नागपञ्चमी र ऋषिपञ्चमीका अवसरमा विशेष मेला लाग्ने गर्दछ। पछिल्लो समय ललितपुर महानगरपालिकाले नागदहको संरक्षण, सौन्दर्यीकरण तथा प्रचारप्रसारलाई प्राथमिकता दिँदै यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ।
