ललितपुर । वाईसिएल नेपालले ललितपुरको सुनाकोठीस्थित बालकुमारी चौरमा वृक्षारोपण, गोडमेल तथा संरक्षणसम्बन्धी श्रमदान कार्यक्रम सम्पन्न गरेको छ। वाईसिएल नेपाल ललितपुर जिल्ला समितिको आयोजनामा ३० गते आयोजित कार्यक्रममा करिब ३ सय जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली, पार्टीका केन्द्रीय नेताहरू, पूर्व वाईसिएल नेपाल अध्यक्ष तथा इन्चार्ज दीपशिखा, ललितपुर जिल्लाका पार्टीका केन्द्रीय सदस्यहरू तथा वाईसिएल नेपालको केन्द्रीय टोलीसहित नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत सुनाकोठीको बालकुमारी चौरमा नयाँ वृक्षारोपण गर्नुका साथै गत वर्ष नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री क. प्रचण्डको उपस्थितिमा रोपिएका बिरुवाहरूको गोडमेल, संरक्षण तथा सरसफाइसमेत गरिएको थियो। सार्वजनिक जग्गाको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणलाई जोड दिँदै वाईसिएल नेपालले श्रमदानमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ।

वाईसिएल नेपालले विगतदेखि नै उत्पादन, श्रमदान र सामाजिक सेवाका अभियानलाई निरन्तरता दिँदै जनताको सुख–दुःखमा साथ दिने संगठनका रूपमा आफूलाई सक्रिय बनाउँदै आएको जनाएको छ। सडक तथा सार्वजनिक संरचना निर्माण–मर्मत, सरसफाइ, विपद्का समयमा सहयोग तथा वातावरण संरक्षणजस्ता सामाजिक कार्यमा युवाहरूलाई परिचालन गर्दै आएको वाईसिएल नेपालको अभियानअन्तर्गत वृक्षारोपण तथा संरक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमले सार्वजनिक जग्गाको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्न, युवाहरूमा श्रमप्रतिको सम्मान र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न तथा स्थानीय समुदायसँग सहकार्य बढाउन सकारात्मक योगदान पुर्याउने आयोजकको विश्वास छ।
वाईसिएल नेपालले आगामी दिनमा पनि ‘उत्पादन, श्रमदान र सामाजिक सेवा’ अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै समाज तथा राष्ट्र निर्माणका काममा युवाहरूको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
