काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ। महासंघले धर्नामा सहभागी हुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सम्पूर्ण पत्रकार तथा सरोकारवालालाई आह्वान गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नामा सहभागी हुन आग्रह गरेका हुन्।
नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो। श्रेष्ठलाई पक्राउ गरेको भोलिपल्ट बिहीबार बिहानै प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ। प्रहरीले अनुसन्धानका क्रममा कार्यालयमा खानतलासी गरिएको जनाएको छ।
श्रेष्ठको पक्राउ तथा जनआस्थाको कार्यालयमा गरिएको खानतलासीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै विरोध गरेको छ। बुधबार राति नै महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो। महासंघले श्रेष्ठलाई विनासर्त तत्काल रिहा गर्न माग गर्दै माग पूरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी दिएको छ।
प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन्। खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका श्रेष्ठ निर्भीक र खरो पत्रकारका रूपमा परिचित छन्।
