काठमाडौँ । प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा बिहीबार बिहान कार्यालयमा रीतपूर्वक खानतलासी गरेको हो।
बुधबार साँझ जनआस्था साप्ताहिकका सम्पादक किशोरी श्रेष्ठ पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा कार्यालयमा खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानको सिलसिलामा कानुनी प्रक्रियाअनुसार कार्यालयमा खानतलासी गरिएको हो।
प्रहरीले वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। उक्त कसुरमा प्रयोग गरिएका कम्प्युटरलगायतका सामग्री नियन्त्रणमा लिइएको एसपी थापाले जानकारी दिए।
श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको हो।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए। त्यसपछि उक्त विषयलाई लिएर सिंहले प्रहरीमा जाहेरी दिएको जनाइएको छ।
