काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बिहीबार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो। यी सबै बैठक सिंहदरबारस्थित संसद् सचिवालयका विभिन्न कक्षमा सञ्चालन हुनेछन्।
यसैगरी बिहान १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको १३ औँ बैठक बस्दैछ। उक्त बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेका संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।
पूर्वाधार विकास समितिको नवौँ बैठक पनि बिहान १० बजे नै बस्दैछ। समितिको आफ्नै बैठक कक्षमा बस्ने यो बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल हुनेछ।
बिहान ११ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक तय भएको छ। यो बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताका विषयमा छलफल हुनेछ।
बिहान ११ बजे नै महिला तथा सामाजिक मामिला समितिको १६ औँ बैठक पनि बस्दैछ। समितिको आफ्नै सभाकक्षमा बस्ने यो बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही र प्रगतिका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। सचिवालयले तोकेका मुख्य कार्यसूचीबाहेक सबै समितिका बैठकमा विविध विषयमा समेत छलफल हुनेछ।
