दिपेश श्रेष्ठ, काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ। यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।
त्यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा अन्य नियमित संसदीय कार्यसूचीसमेत अघि बढाइनेछ।
सात संसदीय समितिको बैठक:
यसैबीच, प्रतिनिधिसभा अन्तर्गत आज विभिन्न सात संसदीय समितिका बैठक पनि बस्दैछन्। अर्थ, उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा तथा विकास आर्थिक मामिला तथा सुशासन समितिका बैठक बस्ने भएका हुन्।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, देखिएका समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी त्यसमा छलफल गर्ने कार्यसूची छ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा बालगृह, बाल सुधारगृह, महिला सुरक्षित आवासगृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल हुनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।
अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गरिनेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।
साथै, निर्णय तथा सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारबाट भएका कामकारबाहीबारे समेत जानकारी लिइनेछ। उक्त समितिले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यसूचीसमेत राखेको छ।
