काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। दैलेखको लोहारे खोलामा पछिल्लो एक घण्टामा १३ मिलिमिटर वर्षा मापन गरिएको छ भने अन्य क्षेत्रमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई भू–भाग तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तराई भू–भागमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। भारी वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आइतबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेस, कर्णालीको पहाडी भू–भाग तथा बागमतीका पहाडी र तराई भू–भागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग तथा बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। वर्षाका कारण सडक तथा यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
