काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बन्द तथा घाटामा रहेका सरकारी उद्योग–संस्थानलाई सुधार गर्दै पुनः सञ्चालन र प्रतिस्पर्धी बनाउने प्रयासले सकारात्मक परिणाम दिन थालेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले इमान्दारिता, कानुनको कार्यान्वयन र टिमवर्कमार्फत रुग्ण उद्योगमा नयाँ जीवन भर्न सकिने बताएका हुन्।
उनका अनुसार वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको प्रधानमन्त्री शाहको भनाइ छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ भने आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने योजना अघि बढाइएको उनले बताएका छन्।
त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत थालिएको शाहले उल्लेख गरेका छन्। नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार आएको दाबी गर्दै उनले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी भएको र अघिल्लो वर्षको सोही अवधिभन्दा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी आम्दानी भएको जानकारी दिएका छन्। सो अवधिमा निगमको सिट उपयोगिता ८६ प्रतिशत पुगेको र जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा पनि सुधारका संकेत देखिएको बताएका छन्। डीडीसीले किसानको दूधको बक्यौता भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारेको, दैनिक बिक्री ३५ प्रतिशतले बढेको र दैनिक राजस्व औसत ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको उनको दाबी छ।
त्यस्तै, सिंहदरबार वैद्यखानाले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको र गत आर्थिक वर्षमा कारोबार करिब १३ करोड रुपैयाँ पुगेको शाहले बताएका छन्। उनले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबैको रचनात्मक साथ र विश्वासको अपेक्षा गरेका छन्।
