काठमाडौं । काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–५, बालुवा स्थित कित्ता नं. १७९ की जग्गाधनी कृष्णमाया तुलाधरले आफू विदेशमा रहेका बेला आफ्नो जानकारी र सहमतिबिनै जग्गाको बीचबाट बाटो खोलिएको आरोप लगाएकी छन्। स्थानीय निकायसँग मिलेमतो गरी प्लटिङ गर्ने क्रममा यस्तो कार्य भएको र त्यसबाट आफ्नो जग्गामा गम्भीर क्षति पुगेको उहाँको दाबी छ।
तुलाधरका अनुसार विदेशमा दुःख गरेर कमाएको पैसाले खरिद गरेको जग्गा आफू नेपालबाहिर रहेका बेला प्रभावित बनाइएको हो। यस विषयमा स्थानीय निकाय, सम्बन्धित कार्यालय तथा प्रहरी प्रशासनसमक्ष पटक–पटक पुगे पनि अहिलेसम्म न्याय नपाएको उहाँको गुनासो छ।
उहाँले आफ्नो सम्पत्ति अधिकारको संरक्षण, घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गर्नुभएको छ। साथै, भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
यस घटनाबारे सम्बन्धित निकायको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन, न वडा बाेल्याे न मालपाेत। यदि पीडितले लगाएका आरोप सत्य ठहरिए भने यो घटना व्यक्तिगत सम्पत्ति अधिकार, कानुनी शासन तथा स्थानीय तहको जवाफदेहितासँग जोडिएको गम्भीर विषय बन्न सक्ने देखिन्छ। त्यसैले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्दै कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ।
