काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत आज (शुक्रबार) बिहान ११:०० बजे बस्ने ४१औँ बैठकमा पाँच वटा महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची तय गरिएको छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्नुका साथै विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरू संसद्मा दर्ता तथा प्रस्तुत गरिनेछन्।
कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ पेश गर्नेछन्।
त्यसपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र स्वीकृतिपछि उक्त विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोविन्दकुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ तथा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र स्वीकृतिपछि सम्बन्धित विधेयकहरू सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
