काठमाडौं । सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ। बैठकमा प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर, बैठक सञ्चालनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको हो।
बैठकमा संसदीय कार्यप्रणालीलाई सुदृढ बनाउने उपाय, कार्यसूची व्यवस्थापन, सांसदहरूले पालना गर्नुपर्ने आचरण तथा संसद् बैठकमा अपनाउनुपर्ने पोशाकसम्बन्धी व्यवस्थालगायत विषयमा सदस्यहरूले आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। साथै संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपायबारे पनि छलफल गरिएको थियो।
छलफलका क्रममा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।
बैठकमा सहभागी सदस्यहरूले संसद्लाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा समेत जोड दिएका थिए।
