गोरखा। देशभरका अधिकांश युवा रोजगारी, अध्ययन तथा अवसरको खोजीमा शहर र विदेशतर्फ गइरहेका बेला गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोटका जितबहादुर नेपाली भने विगत २२ वर्षदेखि आफ्नै जन्मभूमिमा बसेर सामाजिक सेवा, स्थानीय विकास र राजनीतिमा निरन्तर सक्रिय छन्।
सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएका नेपालीले २०६१ सालमा एसएलसी उत्तीर्ण गरेपछि गाउँ नछोड्ने निर्णय गर्दै तत्कालीन नेकपा (माओवादी) को राजनीतिक गतिविधिमा सक्रियता बढाएका थिए। त्यसयता उनले तत्कालीन गोरखा निर्वाचन क्षेत्र नं. ३ तथा इलाका नं. ३ मा संगठन विस्तारसँगै सामाजिक अभियान र स्थानीय विकासका गतिविधिमा सहभागिता जनाउँदै आएका छन्।
उनको जीवन संघर्षले भरिएको छ। २०५५ सालमा २२ वर्षको उमेरमै जेठी दिदीको निधन भयो। त्यसपछि २०६० सालमा बुवा, २०७३ सालमा जेठा दाजु र २०७७ सालमा आमाको निधन भयो। लगातारका पारिवारिक पीडाका बाबजुद उनले गाउँ छोडेनन्। अहिले उनी आफ्ना परिवार र दुई छोरासहित गाउँमै बस्दै कृषि, समाजसेवा र राजनीतिलाई निरन्तरता दिइरहेका छन्। उनका कान्छा भाइ धिरज उपरकोटी पनि राजनीतिमा सक्रिय छन् र हाल वाईसिएल नेपालका केन्द्रीय सचिवको जिम्मेवारीमा काठमाडौंमा कार्यरत छन्।
ताकुकोटको दलित समुदायमा सामाजिक एकता र सहयोगको भावना विकास गर्न जितबहादुर नेपालीले स्थानीय गुठी सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका छन्। गुठीमार्फत प्रत्येक परिवारबाट मासिक १०० रुपैयाँ संकलन गरी बिरामी, विपद् वा आर्थिक समस्यामा परेका सदस्यलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यही गुठीमार्फत सामुदायिक कार्यक्रमका लागि आवश्यक सामग्रीसमेत खरिद गरिएको छ।
उनले स्थानीय समुदायसँग सहकार्य गर्दै मृत्यु संस्कारका अवसरमा हुने मदिरा सेवनको चलन हटाउन जनचेतनामूलक अभियान पनि सञ्चालन गरेका थिए। स्थानीयका अनुसार अहिले अधिकांश कार्यक्रम मदिरामुक्त रूपमा सञ्चालन हुने गरेका छन्।
स्थानीय तह गठन हुनुअघि गाविसको समयमा पनि उनले सर्वदलीय बैठक तथा स्थानीय विकासका छलफलमा सहभागी हुँदै ताकुकोटका विभिन्न बस्तीमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवाको पहुँच विस्तार गर्न आवाज उठाउँदै आएका थिए।
२०७२ सालको भूकम्पपछि पुनर्निर्माणका क्रममा प्रभावित परिवारले सरकारी अनुदान र सेवा–सुविधा प्राप्त गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।
हाल बारपाक सुलिकोट गाउँपालिकाका कार्यपालिका सदस्य रहेका नेपाली नियमित रूपमा वडा नं. ६ का विभिन्न बस्तीमा पुगेर स्थानीय समस्या बुझ्ने, विकास योजनाको अनुगमन गर्ने तथा गाउँपालिका र स्थानीयवासीबीच समन्वय गर्ने कार्यमा सक्रिय छन्। मसार, उल्टे, भालुस्वारा, डाँडागाउँ, केयुरीपानी, मोहरिया, कोटर्थोक, मेलबोट, माझगाउँ, ढापे, भालेढुङ्गा, डाँडाथोक, पोखरी, गैरा, चाहापानी, पाल्खु, बाहाकोट र मैलुङलगायतका बस्तीमा उनी नियमित रूपमा पुग्ने गरेका छन्।
उपभोक्ता समिति गठन, सडक मर्मत, पहिरो व्यवस्थापन, विकास आयोजनाको अनुगमन, महिला सशक्तीकरण, सीपमूलक तालिम तथा अन्य सामाजिक कार्यक्रमहरूमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।
जितबहादुर नेपाली गाउँको विकाससँगै जनसंख्या पलायनको विषयमा चिन्तित छन्। उनका अनुसार विगतको तुलनामा अहिले गाउँमा सडक, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारमा उल्लेखनीय सुधार भए पनि युवाको पलायनका कारण खेतबारी बाँझो बन्दै गएका छन्, विद्यालयमा विद्यार्थी संख्या घटेको छ र गाउँको सामाजिक तथा आर्थिक गतिविधिमा असर परेको छ।
उनी भन्छन्, “हिजो विकासका आधारभूत पूर्वाधार थिएनन्। आज सडक, अस्पताल, विद्यालय र सेवा–सुविधा गाउँमै पुगेका छन्। तर गाउँमा बस्ने युवा घटेका छन्। अब गाउँलाई बचाउने जिम्मेवारी हामीजस्ता युवाकै काँधमा छ।”
गाउँमै बसेर जनप्रतिनिधि, सामाजिक अभियन्ता र राजनीतिक कार्यकर्ताका रूपमा काम गर्दै आएका जितबहादुर नेपाली स्थानीय विकास, सामाजिक सद्भाव र जनसेवाप्रतिको निरन्तर सक्रियताका कारण ताकुकोट क्षेत्रमा परिचित नामका रूपमा चिनिन्छन्।
