काठमाडौं । आमूल परिवर्तन रिपब्लिक पार्टीका अध्यक्ष भरत गिरीले नेपालमा बारम्बार दोहोरिने भ्रष्टाचार, अनैतिकता र सत्ता दुरुपयोगको समस्या केवल राजनीतिक संरचनाको कमजोरी मात्र नभई समाजको नैतिक चेतना, संस्कार र उत्तरदायित्वबोधसँग पनि जोडिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले धेरै आन्दोलन, परिवर्तन र राजनीतिक क्रान्तिपछि पनि नेतृत्व पुरानै प्रवृत्तिमा फसिरहनुको कारण चरित्र र नैतिकताको अभाव रहेको उल्लेख गरेका छन्।
गिरीले धर्मलाई समाजको नैतिक आधार निर्माण गर्ने महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै धार्मिक आस्था आत्मपरिवर्तनभन्दा बाहिरी पहिचानमा सीमित हुँदा त्यसले गलत कार्यलाई समेत ढाकछोप गर्ने माध्यम बन्न सक्ने बताएका छन्। उनले धार्मिक आस्थाले मानिसलाई गल्ती स्वीकार गर्न, पश्चात्ताप गर्न, सत्यनिष्ठ र सार्वजनिक रूपमा जवाफदेही बन्न प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार नेपालको मुख्य समस्या कुनै एक धर्म नभई नैतिकताविहीन धार्मिकता हो।
सामाजिक सञ्जालमा व्यक्त गरिएको आफ्नो धारणामा गिरीले व्यक्तिगत रूपमा प्रोटेस्टेन्ट ख्रीस्टियन शिक्षाले जोड दिने व्यक्तिगत पश्चात्ताप, बाइबलको नैतिकता, मेहनत, पारदर्शिता र सेवामुखी नेतृत्व नेपालका लागि उपयोगी हुन सक्ने विश्वास व्यक्त गरेका छन्। साथै, यसलाई अन्य धर्मप्रति टिप्पणीका रूपमा नबुझ्न आग्रह गर्दै विभिन्न धर्म र संस्कृतिबाट पनि इमानदार, त्यागी तथा समाजसेवी व्यक्तित्वहरू जन्मिएको उल्लेख गरेका छन्।
गिरीले नेपाललाई सत्य, न्याय, इमानदारी, आत्मपरिवर्तन, आर्थिक पारदर्शिता, सार्वजनिक जवाफदेहिता र सेवाभावमा आधारित नेतृत्व आवश्यक रहेको बताएका छन्। “धर्मको नाममा होइन, सत्यको पक्षमा उभिने नेतृत्व नै राष्ट्रको आशा हो,” भन्दै उनले देशको परिवर्तन संसदबाट मात्र नभई मानिसको हृदय, सोच र चरित्रबाट सुरु हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
