काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभावबारे मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। छलफलमा विभिन्न मन्त्रालयका सचिव, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगीहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा ग्यास अभावको कारण र तत्काल समाधानका उपायबारे विस्तृत समीक्षा गरिएको थियो। व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको, तर आधा भरिएका सिलिन्डर पुनः भर्ने प्रक्रिया सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेकाले माग एक्कासि बढेको जानकारी गराएका छन्।
बैठकले बजारमा सहज आपूर्ति सुनिश्चित गर्न ग्यास आयात बढाउने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्बन्धित निकायबीच समन्वयलाई सुदृढ गर्ने निर्णय गरेको छ। साथै, आगामी चाडपर्वलाई लक्षित गर्दै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन आवश्यक तयारी अघि बढाइने जनाइएको छ।
मुख्य सचिव कार्कीले ग्यास आपूर्तिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सरोकारवाला निकायसँग निरन्तर छलफल र समन्वयलाई अघि बढाइने बताउनुभएको छ।
