काठमाडौं । सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले मंगलबार बिदाइ शिष्टाचार भेट गर्नुभएको छ। संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यस प्रक्रियामा युरोपेली संघको निरन्तर सहयोग र सकारात्मक समर्थनको अपेक्षा रहेको उहाँले व्यक्त गर्नुभयो।
सभामुख अर्यालले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै रोजगारी सिर्जना, पूर्वाधार विकास, द्रुत आर्थिक वृद्धि तथा प्रतिव्यक्ति आय वृद्धि सरकारका मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। साथै, युरोपेली संघका सदस्य राष्ट्रहरूसँग संसदीय मैत्री समूह गठन भइसकेको र निकट भविष्यमा युरोपेली संघसँग पनि संसदीय मैत्री समूह गठन गरिने जानकारी दिँदै यसले संसदीय कूटनीति र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नेपाल–युरोपेली संघ संयुक्त आयोगका नियमित बैठक तथा विभिन्न तहमा हुने उच्चस्तरीय भ्रमण र भेटघाटले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नेपालले युरोपेली संघसँगको साझेदारीलाई उच्च महत्व दिएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालभर नेपाल सरकार, संघीय संसद् र नेपाली जनताबाट प्राप्त सहयोग तथा सद्भावप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नेपाल र युरोपेली संघबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो।
