काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। दुई सातापछि साउन १४ गते बसेको बैठक पुनः पाँच दिन स्थगित भएपछि आज फेरि बैठक बस्न लागेको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२)’ प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूची छ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण, सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ।
प्रस्तावमा वास्तविक भूमिहीन तथा सुकुमवासीलाई उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति तथा यथाशीघ्र लालपूर्जा वितरणको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। उक्त प्रस्तावलाई सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गरेका छन्।
