नेपालगञ्ज, बाँके । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले करिब ५७८ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भारतको बाहरपंखी क्षेत्रबाट खैरो हेरोइन खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री–वितरण गर्दै आएका बाँके जिल्लाका ३० वर्षीय सशिल भण्डारी र ५५ वर्षीय अरुण कुमार जयसवाल लाई मिति २०८३ साउन १८ गते नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ गरिएको हो।
प्रारम्भिक पक्राउका क्रममा प्रहरीले १५३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा अरुण कुमार जयसवालको घरमा खानतलासी गर्दा कोठाभित्र रहेको दराजमा लुकाई राखिएको ४२५ ग्राम खैरो हेरोइन समेत फेला परेको प्रहरीले जनाएको छ। यससँगै बरामद भएको कुल खैरो हेरोइनको परिमाण ५७८ ग्राम ९५० मिलिग्राम पुगेको हो।
प्रहरीले घटनास्थलबाट एक थान डिजिटल तराजु, दुई थान मोबाइल फोन, नेपाली रुपैयाँ १ लाख ८० हजार तथा भारतीय रुपैयाँ २ लाख १४ हजार समेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा बुझाइएको छ।
प्रहरी अभिलेखअनुसार पक्राउ परेका अरुण कुमार जयसवाल यसअघि पनि लागुऔषध (खैरो हेरोइन) मुद्दामा २०७५ असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। उक्त मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति भएको अभिलेखबाट खुलेको प्रहरीले जनाएको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दुर्गा राज रेग्मी ले जानकारी दिएका छन्।
