भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ लगायतका विभिन्न वडाका स्थानीयवासीले लामो समयदेखि आफ्नै स्वबासी जग्गाको स्थायी लालपुर्जा प्राप्त गर्न नसकेको गुनासो समाधानतर्फ महत्वपूर्ण पहल भएको छ। माननीय राजीव खत्री र माननीय कुसुम महर्जनको वडा बासी भेटघाट कार्यक्रमअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको पहलमा सोमबार मालपोत कार्यालय भक्तपुरमा सम्बन्धित निकायबीच समन्वय बैठक सम्पन्न भएको हो।
नगर सभापतिको अगुवाइमा भएको बैठकमा मालपोत कार्यालय भक्तपुरका प्रमुख, नापी कार्यालय भक्तपुरका प्रमुख तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा वडा बासीका जग्गाधनी पुर्जा वितरणमा देखिएका समस्या, आवश्यक प्रक्रिया तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको जनाइएको छ।
बैठकपछि मालपोत कार्यालयका प्रमुखका अनुसार मध्यपुर थिमि नगरपालिका वडा नं. ५ (साबिक वडा नं. ११) मा भदौ महिनाको पहिलो हप्ताभित्र ३५ दिने सार्वजनिक सूचना जारी गरी त्यसलगत्तै स्थायी लालपुर्जा वितरण प्रक्रिया सुरु गरिनेछ। यस्तै वडा नं. ८ (साबिक वडा नं. १ र २) का हकमा श्रावण महिनाको अन्तिमसम्म विभागबाट आवश्यक निर्देशन प्राप्त भएपछि पुर्जा वितरण प्रक्रिया अघि बढाइने जानकारी नापी कार्यालय प्रमुखले दिएका छन्। त्यसैगरी वडा नं. ५ (साबिक वडा नं. १०) मा सम्बन्धित जग्गा तथा आसपासका कित्ताको सर्जमिन (यकिन) गरी मध्यपुर थिमि नगरपालिकाको कार्यपालिकाबाट निर्णय भएपछि ३५ दिने सूचना जारी गरेर पुर्जा वितरण प्रक्रिया अघि बढाइने जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिले स्थानीय नागरिकका दीर्घकालीन समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ। नागरिकका जायज माग पूरा गर्न आफूहरू सधैं जिम्मेवार र सक्रिय रहने पनि समितिले जनाएको छ।
