काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागूऔषध कारोबारबाट सीमित व्यक्तिले आर्थिक लाभ लिए पनि त्यसको गम्भीर असर सम्पूर्ण समाजले भोग्नुपर्ने बताएका छन्।
लागूऔषध नियन्त्रणसम्बन्धी कार्यक्रममा बोल्दै आईजीपी कार्कीले लागूऔषधको कारोबार र दुव्र्यसनले व्यक्ति, परिवार तथा समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने उल्लेख गरे। उनले लागूऔषधबाट केही व्यक्ति धनी बन्न सफल भए पनि त्यसले समाजलाई अपराध, हिंसा, स्वास्थ्य समस्या र सामाजिक विघटनतर्फ धकेल्ने भएकाले यसको नियन्त्रण सबैको साझा जिम्मेवारी भएको बताए।
उनले युवापुस्तालाई लागूऔषधको दुव्र्यसनबाट जोगाउन परिवार, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, लागूऔषध ओसारपसार र कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे।
आईजीपी कार्कीले लागूऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउँदै जनचेतना अभिवृद्धि, कानुनको कडाइका साथ कार्यान्वयन तथा समुदायको सक्रिय सहभागितामार्फत मात्रै स्वस्थ र सुरक्षित समाज निर्माण गर्न सकिनेमा जोड दिए।
