काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई शान्ति सुरक्षा भङ्ग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार प्रसाईंलाई आइतबार राति करिब साढे १० बजे भक्तपुरको निकोसेरा स्थित उनको घरबाट नियन्त्रणमा लिइएको हो। प्रहरी स्रोतका अनुसार पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरमा ल्याएर राखिएको छ।
प्रहरीले अन्य थुनुवासँग नराखी प्रसाईंलाई परिसरभित्र रहेको बालमैत्री कक्षमा छुट्टै राखेको जनाएको छ। भक्तपुरका प्रहरी प्रमुख (एसपी) सूर्य खड्काको निर्देशनमा उनलाई सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै अलग्गै कक्षमा राखिएको स्रोतले जनाएको छ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको केही घण्टामै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईंको पक्राउपछि उनको पक्षधरहरूले विरोध जनाएका छन् भने प्रहरीले भने शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले कानुनी प्रक्रिया अनुसार नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
