काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा गोली चलाएर आपराधिक पृष्ठभूमिका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान करिब २ बजे जिल्ल प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गर्ने क्रममा गोली चलाएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति कर्मा तामाङ हुन्। उनी चोरी तथा लुटपाटलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले तामाङलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि बाध्य भएर गोली चलाउनुपरेको जनाएको छ। गोली लागेपछि उनलाई नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाइएको प्रहरी स्रोतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। साथै, तामाङसँग सम्बन्धित अन्य आपराधिक गतिविधिबारे समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
