काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका महत्वपूर्ण सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाँच स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एक स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित लामाबगर–रामेछाप सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक रूपमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसरबाट बैकल्पिक बाटो सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ मा त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ, जुन लामो समयसम्म प्रभावित रहने अनुमान गरिएको छ।
यस्तै, गोरखाको धार्चे गाउँपालिका–३ अन्तर्गत लार्के–बेँसीसहर कच्ची सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गण्डकी प्रदेशको बागलुङस्थित जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा कालिगण्डकी करिडोर सडकखण्डमा पहिरो खसेपछि उक्त सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–१४ रिजिगाउँ खोलामा आएको बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन, यात्रा अघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
