सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागू गरिएको कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म कर्फ्यू हटाइएको हो। यससँगै तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने व्यवस्था लागू गरिएको छ।
प्रशासनका अनुसार पछिल्ला दिनहरूमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जारी गरिएको कर्फ्यू हटाइए पनि शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न निषेधाज्ञा लागू गरिएको हो। निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, धर्ना तथा भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ।
निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिनु जिल्लाको अवस्था क्रमशः सामान्यीकरणतर्फ उन्मुख हुँदै गएको संकेतका रूपमा हेरिएको छ। प्रशासनले सबै पक्षलाई शान्ति, संयम र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै सुनसरीलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाउने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गरेको छ।
